काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले बिचौलिया भनिएका व्यक्तिलाई होटलमा भेटेको विषयलाई लिएर नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले त्यो भेटघाटलाई अहिलेको सन्दर्भमा अस्वाभाविक मान्न नसकिने बताएका छन्। रातोपाटीको वारपार कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले न्यायाधीशहरू व्यक्तिगत स्वार्थ, रकम लेनदेन वा कुनै मुद्दाको सेटिङका लागि नभई आफूलाई निरन्तर दबाब दिइरहेका व्यक्तिको वास्तविकता बुझ्न गएको दाबी गरे।
उनले आफूलाई पछ्याइरहेका व्यक्तिको उद्देश्य र मुद्दामा सिफारिस गर्नुको कारण थाहा पाउनुका साथै भेटेको कुरा सेना, प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको मुख्यालयलाई समेत जानकारी गराइएको बताए। सात जना न्यायाधीश भेटमा संलग्न रहेको आफूले पनि सुनेको उनले उल्लेख गरे।
तथ्य नबुझी बाहिर आएका हल्लाका आधारमा न्यायाधीशको निष्ठामाथि प्रश्न उठाउन नमिल्ने उनको भनाइ छ। सामान्य भेटघाटलाई आधार बनाएर महाभियोग लगाउनु गलत र प्रतिशोधपूर्ण हुने भन्दै उनले महाभियोगमा आर्थिक पक्ष र आचरण हेर्नुपर्ने तर्क गरे। न्यायपालिकालाई तर्साउन महाभियोगको अस्त्र प्रयोग गरिए त्यसले विधिको शासनमा गम्भीर क्षति पुर्याउने उनले चेतावनी दिए।
राजनीतिक हस्तक्षेप र दुईतिहाइको त्रासले न्यायाधीशहरूलाई दबाबमा पारेको भन्दै उनले यस्ता घटनाले न्यायपालिकाको सुधारमा पाठ सिकाउने बताए।
