सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु भएको छ। धनगढीमा आयोजित समिटको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलता र उद्योग–शिक्षा सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताए।
उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा समिट भइरहेको हो। अध्यक्ष श्रेष्ठले उपभोग्य वस्तुदेखि रोजगारीका अवसरसम्म विदेशकै भर पर्नुपर्ने अवस्था बदल्न युवालाई उद्यमशीलतामा जोड्नुपर्नेमा जोड दिए। स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान छ। उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ। प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको २ प्रतिशत र तृतीय क्षेत्रको २.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ।
श्रेष्ठले स्टार्टअप सुरु गर्ने युवालाई सुरुवाती चरणमा मात्र होइन, व्यवसाय विस्तार गर्ने समयसम्म पनि वित्तीय सहयोग र नीतिगत सहजीकरण आवश्यक पर्ने बताए। स्टार्टअप कर्जाको पाँच वर्षको अवधि बढाएर १० वर्ष पुर्याउनुपर्ने र सामूहिक रूपमा अघि बढाइने ठूला तथा नवप्रवर्तनकारी परियोजनाका लागि २ करोडदेखि ५ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने उनको सुझाव छ।
महासंघले स्टार्टअप एन्ड इनोभेसन कमिटी तथा युवा उद्यमी मञ्चमार्फत प्रत्येक वर्ष १ सयभन्दा बढी नयाँ उद्यमीलाई ‘स्टार्टअप च्यालेन्ज’ का माध्यमबाट पुरस्कृत तथा प्रोत्साहित गर्दै आएको पनि उनले जानकारी दिए।
