शरद ऋतुमा पर्ने तिहार नेपालीहरूको दोस्रो ठूलो चाड हो। यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइने यो पर्व दीप प्रज्वलन र उत्सव मात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता, नयाँ अन्नको आगमन र स्वस्थ जीवनको सङ्कल्पसँग पनि जोडिएको छ।
पर्वको पहिलो दिन काग तिहार, त्यसपछि कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार तथा गोवर्धन पूजा र अन्तिम दिन भाइटीका मनाइन्छ। कागलाई शुभ समाचारको सन्देशवाहक, कुकुरलाई मानिसको विश्वासिलो साथी र गाई-गोरुलाई कृषि जीवनको अभिन्न सहयात्रीका रूपमा छुट्टाछुट्टै दिन सम्मान गरिन्छ। गाईबाट प्राप्त दूध, दही, घिउ र गोबर परम्परागत कृषि र आयुर्वेदिक जीवनपद्धतिमा प्रयोग हुँदै आएका छन्।
कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जन्मोत्सव मनाइन्छ, जसलाई नेपालमा आरोग्यता दिवसका रूपमा पनि मनाउने गरिन्छ। ऋतु परिवर्तनसँगै शरीरको पाचनशक्ति र आहारविहारमा आउने परिवर्तनलाई ध्यान दिँदै यो समयमा ऋतु अनुकूल भोजन र स्वस्थ जीवनशैली अपनाउनु महत्त्वपूर्ण मानिन्छ। परम्परामा अन्नलाई ब्रह्म मानिएको छ, र नयाँ अन्न किसानको परिश्रम, माटोको उर्वराशक्ति र अनुकूल ऋतुचक्रको परिणाम हो।
तिहारकै समयमा नेवार समुदायले म्हः पूजा मनाउँछन्। नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने यो पर्वमा मानिसले आफ्नै शरीर र आत्माको पूजा गर्छन्, जसको मूल भाव आफूभित्रको चेतना र अस्तित्वप्रतिको सम्मान हो।
अन्तिम दिनको भाइटीकामा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाएर दीर्घायु र समृद्धिको कामना गर्छन् भने देउसी-भैलोले गाउँ र सहरमा सामाजिक सद्भाव र भेटघाट बढाउँछ। देउसी-भैलोबाट सङ्कलित रकम धेरै ठाउँमा विद्यालय सहयोग र राहतजस्ता सामाजिक कार्यमा प्रयोग हुने गरेको छ। तर, चाडपर्वको रमझममा जुवातासमा धनराशि दाउमा लगाउने प्रवृत्तिले कतिपय परिवारमा गम्भीर समस्या निम्त्याएको छ। त्यसैले उत्सव आफ्नो आर्थिक क्षमताभित्र रहेर मनाउनु नै तिहारको वास्तविक समृद्धि हो।
