हेटौंडा — भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको छ। गत भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको थियो। असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा लगाउने निर्णय गरेको हो।
कटौती गरिएको रकम हाल आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतको ‘अर्थ विविध’ शीर्षकमा राखिएको छ। एकीकृत पुनर्निर्माण योजना तयार भएपछि उक्त रकम विपद् व्यवस्थापन कोषमार्फत खर्च गरिने मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले बताए।
सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ अर्ब ७२ करोड रुपैयाँ कटौती गरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको १ अर्ब २० करोड, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको ४४ करोड ९६ लाख, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको ४० करोड २८ लाख र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको १९ करोड ८६ लाख रुपैयाँ कटौती गरिएको छ। विकासे मन्त्रालयको २० प्रतिशत र सेवा प्रवाह गर्ने मन्त्रालयको १५ प्रतिशत बजेट कटौती गरिएको हो। चालु प्रशासनिक खर्च र संवैधानिक निकायको बजेटमा भने कटौती गरिएको छैन।
प्रदेश सरकारले नुवाकोट र रसुवामा पाँच वटा झोलुङ्गे पुल र दुई वटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरिसकेको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ३० दिने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।
बाढीमा १ हजार ४५५ जनाको मृत्यु भएको थियो भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन्। २ हजार ३०० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४ वटा पक्की र ५१ वटा झोलुङ्गे पुल बगेका छन्। ३५ विद्यालय भवन र ३१७ कक्षाकोठा नष्ट हुँदा ९ हजार २४८ विद्यार्थीको पढाइ प्रभावित भएको छ।
