डडेल्धुरा । जिल्लाका युवा व्यावसायिक रूपमा फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुने देखिएपछि आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा लागेका हुन् । यसले गाउँमै स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि सघाएको छ ।
अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि सयपत्री फूलखेती सुरु गरेका थिए । कृषि प्राविधिक शिक्षा अध्ययन गरेका पाठकले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचले फूलखेती रोजेका हुन् । सुरुमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपरे पनि अहिले घरमै ग्राहक आउने गरेको उनी बताउँछन् ।
पाठकले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका उनले दसैँ र तिहारका बेला डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन् । फूलको माला प्रतिगोटा १०० देखि २०० रुपैयाँ र फूल प्रतिकेजी ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पाठकले बताए ।
यद्यपि किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले भने बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानलाई बजार व्यवस्थापन र प्राविधिक सहयोग गर्न सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए ।
