कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका ३२ खेल कहाँ–कहाँ खेलाइने भन्ने टुंगो लागेको छ। कुल खेलमध्ये २३ वटा मुख्य आयोजक स्थल सुर्खेतमा हुनेछन् भने बाँकी खेल कर्णालीका अन्य जिल्ला र छिमेकी लुम्बिनी प्रदेशमा विभाजन गरिएको छ।
प्राविधिक समितिले अनुमोदन गरेको तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। समापन मंसिर २७ गते तय गरिएको छ। तर औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि केही खेलको प्रतिस्पर्धा सुरु हुनेछ। त्यसमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी पर्छन्। त्यसपछि क्रमशः अन्य खेल पनि सुरु हुँदै जानेछन्।
भौगोलिक कठिनाइ र पूर्वाधारको अवस्थाका कारण यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। मुख्य आयोजक जिल्ला सुर्खेतमा ठूला मैदानी, इनडोर र मार्सल आर्ट्सका खेल सञ्चालन हुनेछन्।
सुर्खेतमा एथलेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन्। कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल पनि सुर्खेतमै खेलाइनेछ। त्यसबाहेक कबड्डी, आर्चरी, भारोत्तोलन, ई-स्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ।
कर्णालीका अन्य जिल्लामा पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेल बाँडिएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछन्।
कर्णालीमा आवश्यक पूर्वाधार नपुगेका कारण केही खेल छिमेकी लुम्बिनी प्रदेशमा पनि सञ्चालन हुनेछन्। पौडी र सुटिङका खेल नेपालगञ्ज (बाँके) मा हुनेछन् भने टेनिस र खो-खोका खेल बर्दियामा खेलाइने तय भएको छ। यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा र चार खेल लुम्बिनीका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो।
