दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविधिको सहायताले विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने लक्ष्यसहित टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । सेवाको पहिलो दिन शिवराज अस्पतालको आग्रहमा प्रतिष्ठानको आन्तरिक रोग विभागका चिकित्सक डा. सञ्जय पौडेलले टेलिमेडिसिनमार्फत पहिलो स्वास्थ्य परामर्श दिएका छन् ।
प्रतिष्ठानले यस सेवालाई नियमित र व्यवस्थित रूपमा चलाउन आफ्ना स्याटेलाइट अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्ने जनाएको छ । विभिन्न विभाग र शाखामा कार्यरत विशेषज्ञ चिकित्सकहरूको नियमित परामर्श तालिका तयार गरी टेलिमेडिसिन सेवा कक्ष दैनिक रूपमा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ । आगामी दिनमा लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरूमा पनि सेवा क्रमशः विस्तार गरिने प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।
सेवा सञ्चालनका लागि प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. सुरेश रसाइली, सह निर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरेसहित अस्पताल प्रशासन र सूचना प्रविधि विभागले समन्वय गरेका थिए । शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्रा र प्रशासकीय अधिकृत तथा मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीको पनि सेवा सञ्चालनमा भूमिका रहेको छ ।
विशेषज्ञ तथा उप विशेषज्ञ स्वास्थ्य परामर्शलाई सहज, सुलभ र प्रभावकारी बनाउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु नै टेलिमेडिसिन सेवाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रविधिको पहुँच भएका स्वदेश तथा विदेशमा रहेका बिरामीहरूले अब प्रतिष्ठानको टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा लिन सक्नेछन् । भौगोलिक दूरी र समयको बाध्यता घटाउँदै बिरामीले आफू रहेकै ठाउँबाट विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्न सक्ने व्यवस्था गरिएको अस्पताल निर्देशक सह प्राध्यापक डा. सुरेश रसाइलीले बताए ।
अस्पतालका सह निर्देशक डा. निरोज खनालले यस सेवाले देश तथा विदेशमा रहेका बिरामीलाई सहज, सरल र सुलभ रूपमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
