दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा बनेको कृत्रिम ड्यामले त्यहाँका किसानको जीवनशैली नै बदलिदिएको छ। बृहत्त दाङ उपत्यका सिंचाइ आयोजनाले ड्याम निर्माण गरिदिएपछि आकाशे पानीको भरमा चल्दै आएका खेतहरूमा अहिले सहजै सिंचाइ पुग्न थालेको छ।ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार र दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा सिंचाइ पहुँच विस्तार गर्ने काम अगाडि बढिरहेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताए।ड्यामको प्रभाव सिंचाइमा मात्र सीमित छैन। आसपासका कुवा र इनारहरूमा पानीको सतह बढेको छ। चैत महिनामै सुक्ने गरेका इनारहरू अहिले ड्याम र तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने भएको वडाध्यक्ष माधव वलीले बताए। ‘विगतमा सिंचाइ नहुँदा सुक्खा रहने जमिन अहिले हराभरा हुन थालेका छन्,’ उनले भने।उनका अनुसार भू–वर्गीकरणमार्फत उक्त क्षेत्रलाई आवासीय वा औद्योगिक होइन, कृषि क्षेत्रका रूपमा विकास गर्ने नीति लिइएको छ। ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षणसँगै कृषि क्षेत्रको रूपान्तरणमा समेत भूमिका खेलेको वलीको भनाइ छ।उक्त ड्याममा डुंगा सञ्चालन गरिँदै आएको छ, जसबाट समुदायले आम्दानी समेत प्राप्त गर्दै आएको छ।
दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने
