छ महिनादेखि चलिरहेको सुनुवाइ अन्ततः टुङ्गिएसँगै अर्जेन्टिनाका दिवंगत फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरवाही गरेको अभियोग लागेका सात स्वास्थ्यकर्मीको भाग्य अब डिसेम्बर २२ मा स्पष्ट हुनेछ। बिहीबार अन्तिम बहस सकिएपछि अदालतले फैसला सुनाउने मिति घोषणा गरेको हो।म्याराडोनाको सन् २०२० नोभेम्बर २५ मा ६० वर्षको उमेरमा हृदयाघात र फोक्सोमा पानी जम्ने कारण मृत्यु भएको थियो। मस्तिष्कको सामान्य शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी ब्युनस आयर्सनजिकैको टिग्रेस्थित आफ्नै निवासमा बसेका थिए।अप्रिलदेखि सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए। अभियोजन पक्षले सात आरोपमध्ये छ जनाका लागि चारदेखि १२ वर्षसम्मको कैद सजाय माग गरेको छ। मुख्य प्रतिवादी तथा म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेका लागि सबैभन्दा बढी १२ वर्ष कैद माग गरिएको छ। लुकेले भने आफूलाई जानीजानी फसाइएको र मुद्दामा बलिको बोका बनाइएको दाबी गर्दै आएका छन्।मुद्दाको मुख्य प्रश्न भनेको म्याराडोनालाई अस्पतालमा नराखी घरमै स्वास्थ्यलाभ गर्न दिने निर्णय लापरवाही थियो वा थिएन भन्ने हो। अभियोजन पक्षले निवासमा अस्पतालको बेड, मुटुको धड्कन नियन्त्रण गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्ससमेत नभएको कुरालाई लापरवाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको थियो।सुनुवाइको अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरेकी थिइन्। विश्वभरका फुटबल समर्थकले डिसेम्बर २२ को फैसलालाई चासोका साथ हेरिरहेका छन्।
म्याराडोनाका स्वास्थ्यकर्मीको भाग्य डिसेम्बर २२ मा तय हुने
