काठमाडौँ — नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अधिकारिक माध्यमबाट मात्र हेर्न क्रिकेटप्रेमीहरूलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमा सन्देश राख्दै उनले अनधिकृत स्रोत तथा पाइरेसीबाट खेल नहेर्न विशेष अपिल गरेका हुन्।
नेपालभित्र एनपीएल हेर्ने आधिकारिक माध्यम हिमालय स्पोर्ट्स हो भने अन्तर्राष्ट्रिय दर्शकका लागि स्टार स्पोर्ट्स तोकिएको छ। विश्वभरका दर्शकले नेटटीभी ओटीटी एपमार्फत पनि खेल हेर्न सक्ने उनले जानकारी दिए।
आधिकारिक च्यानल र डिजिटल प्लेटफर्ममार्फत खेल हेर्दा प्राप्त हुने सहयोगले नेपाली क्रिकेटको विकासमा प्रत्यक्ष टेवा पुग्ने सचिव खड्काको भनाइ छ। उनले क्रिकेटलाई नेपालको पहिचान बनाउन र देशलाई मजबुत क्रिकेट राष्ट्रका रूपमा उभ्याउन आधिकारिक माध्यमको प्रयोग अपरिहार्य रहेको बताए।
पाइरेसीले खेलाडी, आयोजक र प्रसारणकर्तालाई नोक्सान पुर्याउने भन्दै उनले प्रशंसकहरूलाई सजग हुन आग्रह गरेका हुन्। एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको अवस्थामा यसको दिगो विकासका लागि आधिकारिक माध्यमको प्रयोग महत्वपूर्ण हुने उनको तर्क छ।
