भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको दैनिक सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ। वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरका अनुसार बुधबार दिल्लीका केही क्षेत्रमा हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको छ। यसले राजधानीको वायु गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको देखाएको छ।
दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण प्रदूषण थप बढ्ने चिन्ता व्यक्त गरिएको छ। प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन र निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि तीन दिनपछि नै प्रदूषणको स्तर झन् बढेको हो। भारतको सर्वोच्च अदालतले दीपावलीमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ।
भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयामको वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत छ। जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत हिस्सा छ। विभिन्न ग्यासबीच हुने रासायनिक प्रतिक्रियाबाट बन्ने माध्यमिक कणले कुल प्रदूषणको २७ प्रतिशत हिस्सा ओगटेको छ।
विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग हुने मलबाट निस्कने अमोनियाले पनि माध्यमिक कण निर्माणमा योगदान पुर्याउँछ। अमोनियाले अन्य प्रदूषकसँग रासायनिक प्रतिक्रिया गर्दा वायु प्रदूषण थप जटिल बन्ने उनको भनाइ छ।
द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो।
