काठमाडौँ । टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर १ गतेदेखि ऐन तथा सोसँग सम्बन्धित नियमावली कार्यान्वयनमा ल्याउने बताएको हो ।
मासुको स्वच्छता तथा गुणस्तर कायम गरी उपभोक्तालाई स्वस्थ र सफा मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आठ जना मासु निरीक्षकसमेत तोकेको छ ।
ऐन कार्यान्वयनमा आएसँगै पशु पन्छीको वध गर्नुअघि तोकिएका मासु निरीक्षकमार्फत स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । वधपश्चात् मासुको अनिवार्य निरीक्षण गराई योग्य ठहर भई आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री वितरण गर्नुपर्ने नगरपालिकाले बताएको छ ।
मासु निरीक्षकसँग आवश्यक समन्वय तथा सम्पर्क गर्नुपर्ने, प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक अनुमति र इजाजतपत्र लिएर मात्र मासु व्यवसाय सञ्चालन गर्नुपर्ने र मासु पसलमा स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताइएको छ ।
रोगी पशुको मासु तथा निरीक्षण नभएको वा छाप नलगाइएको मासु बिक्री वितरण गर्न नपाइने नगरपालिकाले जनाएको छ । उल्लेखित कानुनी व्यवस्था उल्लङ्घन गरेको पाइएमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएको छ ।
नगरपालिकाले मासु निरीक्षकका रूपमा डा. गौरीमान श्रेष्ठ, डा. बिदुर पिया, डा. जस्मिन अधिकारी, डा. शिरणकृष्ण तिवारी, डा. सुरेन्द्र खनाल, डा. अभिमन्य श्रेष्ठ, डा. दिव्यगुरु श्रेष्ठ र डा. सुलभ ढकाललाई तोकेको छ ।
