जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका विषयमा कुनै पनि दलसँग औपचारिक छलफल नभएको जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव लालबाबु राउतले बताएका छन्। विभिन्न दलबीच सहमति भइसकेको चर्चा चलिरहेका बेला पूर्वमुख्यमन्त्री राउतले यस्तो प्रस्टीकरण दिएका हुन्।
रातोपाटीसँगको कुराकानीमा राउतले नेकपा एमाले र नेपाली कांग्रेसलगायत कुनै पनि दलसँग सरकार गठनबारे औपचारिक वार्ता नभएको दाबी गरे। केन्द्रस्तरमा जसपा, एमाले र जनमत पार्टीबीच सहमति भइसकेको भन्ने चर्चा हल्ला र अफवाह मात्रै भएको उनको भनाइ छ।
आजको मितिसम्म औपचारिक रूपमा सरकार गठनका विषयमा न एमालेसँग कुरा भएको छ, न कांग्रेससँग भन्ने उनले बताए। पार्टी अध्यक्षसँग कुरा हुँदा पनि अन्य दलसँग औपचारिक छलफल नभएको जानकारी पाएको उनको भनाइ छ।
राउतले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई पहिले विश्वासको मत लिने प्रक्रिया पूरा गर्न दिनुपर्ने बताए। विश्वासको मतको नतिजा नआउँदै नयाँ सरकारबारे हतार गर्न आवश्यक नरहेको उनको भनाइ छ। मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
जसपा नेपाल र जनमत पार्टी नौ दलीय अग्रगामी मोर्चामा रहे पनि यी दुई दलको समर्थनले मात्रै सरकार बन्न नसक्ने राउतले बताए। सरकार बनाउन कम्तीमा अर्को एउटा ठूलो दलको समर्थन चाहिने भएकाले कांग्रेस वा एमालेमध्ये कुनै एकसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको उनले बताए।
जसपा नेपाल प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको दाबी स्वाभाविक हुने राउतको भनाइ छ। प्रदेशसभामा जसपाका २७ सांसद छन्।
गत असोज ३० गते नेकपा एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। त्यसपछि मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउन अन्य दलसँग छलफल अघि बढाएका छन्। सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीले भने हालसम्म समर्थन फिर्ता लिएको छैन।
