तेल अभिभ । इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको कुनै प्रमाण नभेटिएको जनाएको छ । घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको समितिको निष्कर्ष छ ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै इजरायलमा नयाँ सरकार गठनको राजनीतिक प्रक्रिया अघि बढेको छ । राष्ट्रपति आइज्याक हर्जोगले बुधबार आधिकारिक परिणाम प्राप्त गरेपछि नेतान्याहु वा विपक्षी नेता गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नेछन् ।
नेतान्याहुले निर्वाचनका दिन अरब दलहरूले मतदातालाई नगद बाँडेको र कतारबाट रकम प्राप्त गरेको आरोप लगाएका थिए । तर महान्यायाधिवक्ता गली बहराव–मियाराले पर्याप्त प्रमाणबिना कसैसँग सोधपुछ गर्न नमिल्ने बताएकी छन् । नेतान्याहुको लिकुड पार्टीले भने उनीमाथि अनुसन्धानमा अवरोध पुर्याएको आरोप लगाएको छ ।
विपक्षी नेता आइसेनकोटले मध्यमार्गी र मध्यदक्षिणपन्थी दलहरूलाई एकजुट गर्दै नेतान्याहुको लामो शासन अन्त्य गर्ने प्रयास गरिरहेका छन् । उनले इरानविरुद्ध अर्को युद्ध सुरु नगर्न नेतान्याहुलाई चेतावनी दिँदै इजरायलमा एकता सरकार गठन गर्नुपर्ने धारणा राखेका छन् । पूर्वप्रधानमन्त्री यायर ल्यापिडले भने अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयपछि नेतान्याहुको नेतृत्वमा एकता सरकार गठन हुने सम्भावना कमजोर भएको बताए ।
इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोटको पक्षले ४८ सिट जितेका छन् । अरब अल्पसङ्ख्यक दलका १९ सिटको समर्थन प्राप्त भए विपक्षी पक्ष बहुमतको नजिक पुग्न सक्छ । तर विपक्षी गठबन्धनका केही दलले गैरयहुदी सांसदको समर्थनमा सरकार गठन गर्न अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रपति हर्जोगले आधिकारिक परिणाम प्राप्त गरेपछि दुई दिनसम्म राजनीतिक दलहरूसँग परामर्श गर्ने कार्यक्रम छ । त्यसपछि सरकार गठनको जिम्मेवारी पाउने नेताले २८ दिनभित्र बहुमत जुटाउनुपर्नेछ । आवश्यक परे थप १४ दिनको समय दिइनेछ । पहिलो प्रयास असफल भए अर्को नेतालाई अवसर दिइनेछ । दोस्रो प्रयास पनि सफल नभए संसद्का बहुमत सदस्यले २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार चयन गर्नुपर्नेछ । त्यसो हुन नसके देश पुनः निर्वाचनमा जानुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२२ बीच इजरायलमा राजनीतिक गतिरोधका कारण पाँच पटक निर्वाचन भएको थियो । सन् २०२२ को निर्वाचनपछि नेतान्याहुलाई सरकार गठन गर्न ५८ दिन लागेको थियो । उनले सत्ता गुमाए भ्रष्टाचारसम्बन्धी आरोप र सम्भावित जेल सजायको जोखिमसमेत सामना गर्नुपर्नेछ । यसैबीच, आगामी संसद्मा सबैभन्दा ठूलो अरब बहुल पार्टीका नेता युसेफ जाब्रिनले विपक्षी दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन संयुक्त प्रयास गर्न आग्रह गरेका छन् ।
