रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले रुसप्रतिको शत्रुतापूर्ण व्यवहार त्यागे सहकार्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्। यद्यपि युरोपले द्वन्द्व सुरु गरे त्यसको सामना गर्न रुस पनि तयार रहेको उनले चेतावनी दिएका छन्।
बेलारुसको राजधानी मिन्स्कमा मंगलबार आयोजित युरेसियाली सुरक्षासम्बन्धी चौथो मिन्स्क अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै लाभरोभले रुसले पश्चिमी देशसँगको सहकार्यका लागि कहिल्यै ढोका बन्द नगरेको बताए। उनले रुसले युरोपसँग युद्ध गर्ने चाहना वा योजना नराखेको स्पष्ट पार्दै युरोपले युद्ध रोजे त्यसको सामना गर्न तयार रहेको उल्लेख गरे। युरोपसँग प्रत्यक्ष संवादको सम्भावना अझै अनिश्चित रहेको उनको भनाइ थियो। पश्चिमी देशहरू विश्वव्यापी बहुध्रुवीय व्यवस्थाको वास्तविक प्रवृत्तिबाट टाढिँदै गएको टिप्पणीसमेत उनले गरे।
बेलारुसको विदेश मन्त्रालयले आयोजना गरेको सम्मेलनमा करिब ५० देश तथा क्षेत्रका ६०० भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। सम्मेलनको उद्घाटन गर्दै बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले युरेसियामा दिगो सुरक्षा र विकासको साझा मोडेल निर्माण गर्नु व्यावहारिक आवश्यकता भएको बताए। यस्तो व्यवस्था विश्वकै हितमा हुने उनको भनाइ थियो।
लुकासेन्कोले युरोपभरि बढिरहेको उच्चस्तरको विरोध र असन्तुष्टिलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै युरोपेली संघका सदस्य राष्ट्रहरूलाई सहकार्यका लागि नयाँ बाटो खोज्न आग्रह गरे। युक्रेन संकटले अर्को ठूलो युद्ध निम्त्याउन सक्ने खतरा औंल्याउँदै उनले द्वन्द्वको शान्तिपूर्ण समाधान छिट्टै खोजिने आशा व्यक्त गरे।
दुई दिनसम्म चल्ने सम्मेलनमा हतियार नियन्त्रण, सुरक्षा क्षेत्रमा नयाँ प्रविधिको भूमिका तथा सामूहिक सुरक्षा सन्धि सङ्गठनको विकासलगायत विषयमा छलफल हुँदैछ। आर्मेनिया, बेलारुस, कजाकिस्तान, किर्गिस्तान, रुस र ताजिकिस्तान गरी छ सदस्य रहेको उक्त सङ्गठन युरेसियाली क्षेत्रको सामूहिक सुरक्षासँग सम्बन्धित छ।
