काठमाडौं — सरकारले क्यासिनो नियमावली संशोधन गरेपछि नेपालमा सञ्चालनमा रहेका साना क्यासिनोका लागि स्तरोन्नतिको बाटो खुलेको छ। अब साना क्यासिनोले तोकिएको मापदण्ड पूरा गरेर ठूलो क्यासिनोमा स्तरोन्नति हुन सक्नेछन्।
पर्यटन विभागका अनुसार स्तरोन्नति गर्न चाहने क्यासिनोले खेल क्षेत्रको क्षेत्रफल विस्तार गर्न, टेबल तथा उपकरणको संख्या थप्न र समग्र क्षमता बढाउन पाउनेछन्। नियमावली संशोधनमार्फत यस प्रक्रियालाई सहज बनाइएको विभागले जनाएको छ।
यसअघि साना क्यासिनोका लागि ठूलो क्यासिनोमा स्तरोन्नति हुने स्पष्ट व्यवस्था थिएन। संशोधनसँगै उनीहरूले तोकिएको प्रक्रिया पूरा गरी ठूलो स्तरमा सञ्चालन गर्न सक्ने भएका छन्। विभागले क्षमता बढाउन इच्छुक क्यासिनो कम्पनीलाई सम्पर्क गर्न आह्वान गरेको छ।
क्यासिनो क्षेत्रमा गरिएको यो सहजीकरणले पर्यटन तथा मनोरञ्जन व्यवसायमा थप लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ। साना क्यासिनोको क्षमता विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धि दुवैमा सहयोग पुग्ने विभागको विश्वास छ।
