काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन्। नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
त्रिपाठी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गरेको बताए। उनले साहित्यको विकासका लागि आधुनिक वाक्यविन्यास प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजका विसङ्गति र विकृतिविरुद्ध सिर्जना गरेर आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
सम्मानित स्रष्टा त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताउँदै स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता र आर्थिक पीडालाई गहिरो अध्ययन र अनुभूतिका साथ भाषाकौशलमार्फत प्रस्तुत गर्नुपर्ने बताए।
सम्मानित स्रष्टा अर्यालले महाकविको जन्मजयन्तीको अवसरमा सम्मान पाउँदा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
