रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम कायमै रहेकाले रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित ठाउँमा सार्न माग गरेका छन्।
बाढीपछि गाउँको तल्लो भागबाट तीव्र कटान सुरु भएपछि हाकुबेँसी पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए। उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि कमजोर भूगोलका कारण पहिरो खस्ने क्रम नरोकिएकाले समुदायले प्रमुख जिल्ला अधिकारीमार्फत लिखित माग बुझाएको हो। बाढी र कटानले गाउँमा रहेको एउटा विद्यालय र प्रहरी चौकीसमेत सङ्कटमा परेका छन्।
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै जोखिमयुक्त बस्ती तत्काल अन्यत्र सार्नुबाहेक विकल्प नरहेको उल्लेख गरे।
यसैबीच, भोटेकोशी बाढीमा सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकले वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्र स्थानान्तरणबारे ठोस निर्णय लिइने जानकारी दिए। बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उनले बताए।
