कैलालीको धनगढी उपमहानगरपालिकाले सोमबार १६३ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ। धार्मिक पर्यटनलाई टेवा पुर्याउनुका साथै उमेर र आर्थिक अवस्थाका कारण टाढा जान नसक्ने ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर दिने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्दै आएको हो।
नगर प्रमुख गोपाल हमालले तीर्थयात्रीको टोलीलाई बिदाइ गर्दै कार्यक्रमको निरन्तरताबारे जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको यो अभियानमा हरेक वर्ष ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाउने गरिएको छ। सोही वर्षको कात्तिक ३ गते पहिलो टोली पठाइएको थियो।
हमालले घर, परिवार र समाजका लागि लामो समय योगदान गरेका नागरिकहरू जीवनको उत्तरार्धमा कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नपाउने अवस्था रहेको बताए। त्यस्ता नागरिकलाई सम्मानसहित तीर्थयात्राको अवसर दिन यो कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
नगरपालिकाका अनुसार कार्यक्रम सुरु भएयता हालसम्म ७१५ जना ज्येष्ठ नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएका छन्। नगरपालिकाले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
