लण्डन । रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा कार्यरत अमेरिकी सेनाका एक सैनिक पक्राउ परेका छन् । बेलायती आतंकवादविरोधी प्रहरीले मंगलबार ग्लुचेस्टर नजिकै ती २१ वर्षीय सैनिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ती पुरुषलाई राष्ट्रिय सुरक्षा ऐन २०२३ को दफा १ र दफा ३ अन्तर्गत पक्राउ गरिएको छ । उक्त ऐनको दफा १ ले सुरक्षित सूचना सङ्कलन गर्ने वा खुलासा गर्ने कामसँग सम्बन्धित विषय समेट्छ भने दफा ३ विदेशी गुप्तचर सेवालाई सहयोग पुर्याउने कार्यसँग जोडिएको छ ।
अनुसन्धानका क्रममा अधिकारीहरूले ग्लुचेस्टरशायरका दुई स्थानमा खोजतलास गरिरहेका छन् । बीबीसीका अनुसार ती सैनिक ग्लुचेस्टरशायरको इन्स्वर्थस्थित इम्जिन ब्यारेक्समा कार्यरत थिए । उक्त ब्यारेक्स नाटोको एलाइड र्यापिड रियाक्सन कोरको मुख्यालय हो, जुन गठबन्धनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण परिचालन आधार मानिन्छ ।
आतंकवादविरोधी प्रहरीले यो घटना अन्य कुनै जारी अनुसन्धानसँग सम्बन्धित नरहेको जनाएको छ ।
यता अमेरिकी संघीय अनुसन्धान ब्युरोका निर्देशक काश पटेलले एक विज्ञप्ति जारी गर्दै यो गिरफ्तारीमा जासुसीका आरोपहरू सामेल रहेको बताएका छन् । उनले भने, ‘यो महत्त्वपूर्ण गिरफ्तारीमा जासुसीका आरोपहरू सामेल छन् । यो संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगीहरूका लागि अत्यन्तै चिन्ताको विषय हो ।’
