काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गरिएको भन्दै सरकारको कदमप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सञ्चारगृहमा प्रहरी पठाएर पत्रकारलाई धरपकड गर्ने काम तत्काल रोक्न माग गरे।
राणाका अनुसार संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेको छ। कुनै समाचारप्रति असहमति भए त्यसको समाधान पक्राउबाट होइन, प्रेस काउन्सिल नेपालजस्ता कानुनी निकाय र स्थापित प्रक्रियामार्फत खोज्नुपर्ने उनको भनाइ छ। समाचार लेखेकै निहुँमा पत्रकार समात्नु र सञ्चारमाध्यमलाई डराउनु लोकतान्त्रिक मूल्यविपरीत भएको उनले बताए।
लोकतन्त्रमा राज्य कानुनको शासनबाट चल्नुपर्ने उनको जोड छ। कानुनलाई सत्ताको स्वार्थअनुसार प्रयोग गर्न नहुने र कानुन नागरिकलाई तर्साउने हतियार नभई अधिकार जोगाउने आधार भएको उनले स्पष्ट पारे।
स्वतन्त्र सञ्चारमाध्यम लोकतन्त्रको रक्षक भएको उल्लेख गर्दै उनले प्रेसमाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए। सरकार संविधानभन्दा माथि नहुने भन्दै उनले संविधानको पूर्ण पालना गर्न सरकारसँग माग गरेका छन्।
