काठमाडौँ — बङ्गालको खाडीमा बनेको अर्नब चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावले आज देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम खालको वर्षा भइरहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसोपछि अर्नबको असर क्रमशः कम हुँदै जानेछ। तर आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि यस्तै मौसम रहने पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा हल्का वर्षा हुन सक्नेछ भने कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
