लगातारको वर्षाले अवरुद्ध बनेका देशका विभिन्न सडक खण्डहरू पहिरो र लेदो पन्छाएपछि पुनः सञ्चालनमा आएका छन्। पूर्वाधारमन्त्री सुनिल लम्सालले अवरुद्ध सडकहरू छिटो खुलाउन जनशक्ति र भारी उपकरण परिचालन गरिएको जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार सडक डिभिजन पाल्पाअन्तर्गत कालीगण्डकी करिडोरको पाल्पा, रामपुर नगरपालिका–१ खण्डमा आज बिहानदेखि नै यातायात सुचारु भएको छ। सोही करिडोरको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ को राक्से खण्डमा खसेको पहिरो हटाएपछि दिउँसोदेखि सवारी आवागमन फेरि सुरु भएको छ।
सडक डिभिजन जुम्लाअन्तर्गत पर्ने नाग्म–गमगढी सडकको ताल्चा खण्डमा वर्षाका कारण जम्मा भएको हिलो र लेदो पन्छाएपछि दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक खुलेसँगै रोकिएका सवारी साधनहरू आफ्ना गन्तव्यतर्फ लागेका छन्।
यसैगरी पृथ्वी राजमार्गको चालिसेभीर खण्डमा पहिरोका कारण रोकिएको सडक सफा गरेपछि अहिले दुवैतर्फ सवारी चल्न थालेको छ। वर्षाका कारण अन्य क्षेत्रमा पनि सडक अवरुद्ध हुन नदिन र अवरुद्ध भएका ठाउँमा तत्काल खुलाउन सडक विभाग तथा स्थानीय प्रशासनले आवश्यक जनशक्ति र उपकरण उच्च सतर्कताका साथ परिचालन गरिरहेको मन्त्री लम्सालले बताएका छन्।
