काठमाडौं । सर्वोच्च अदालतमा इजलास गठनका लागि गरिने गोला प्रक्रियामा गम्भीर गडबडी देखिएको छ। शुक्रबार न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाले गोला तानेर संयुक्त इजलास तय गरिसकेपछि उनीहरूको इजलासमा अर्को मुद्दाको सूची एकाएक थपिएको भेटिएको हो।
सुरुको सूचीमा ज्यान मुद्दाका धनबहादुर तामाङविरुद्धका पाँच निवेदन थिए। तीमध्ये तीनको सुनुवाइ भयो भने दुई कानुन व्यवसायीले स्थगित गरे। तर त्यसपछि थपिएको दोस्रो सूचीमा थुनामा रहेका दीपक भट्टका बाबु चतुर्भुज भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनसहित करिब डेढ दर्जन मुद्दा परेका थिए। उक्त सूचीका ६ वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमध्ये कुनैको पनि सुनुवाइ हुन सकेन र सबैमा ‘हेर्न नभ्याइने’ सूचना जनाइएको छ।
सर्वोच्च अदालत नियमावलीको नियम ७६ (५) (१) ले बन्दी प्रत्यक्षीकरणका निवेदनलाई सधैँ प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ। तीन दिनभन्दा बढी बिदा भएमा पनि यस्ता निवेदनको सुनुवाइका लागि अदालत खुला राख्नुपर्छ।
यस विषयमा सर्वोच्चका प्रवक्ता डा. अशोक क्षेत्रीसँग सम्पर्क हुन सकेन। न्यायाधीशहरूले सोमबार बस्ने फूलकोर्ट बैठकमा यो विषय उठाउने तयारी गरेका छन्।
अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन गरेको आरोपमा दीपक भट्टविरुद्ध विशेष अदालतमा शुद्धीकरणको मुद्दा चलिरहेको छ। उनलाई थुनामा पठाउने विशेष अदालतको आदेश त्रुटिपूर्ण भएको दाबीसहित उनका बाबुले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। ८ कात्तिकमा न्यायाधीश मेघराज पोखरेलले तीन दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेका थिए, तर त्यसपछि निवेदनले पेशीको पालो नै पाएन।
