दैलेखमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा एक जनाको ज्यान गएको छ। आइतबार दिउँसो गुराँस गाउँपालिका–४ को चिसापानी क्षेत्रमा रहेको सुर्खेत–दैलेख सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको हो।
मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्। सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चलाइरहेका चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन्। प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन पनि प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
