ललितपुर । पाटनमा दसैंसँगै सुरु भएको मानमानेश्वरी भवानीको पायो जात्रा शनिबार सम्पन्न भएको छ । फूलपातीका दिन देवीको मूर्तिलाई आगमघरबाट मूलचोकमा ल्याएर थालिएको जात्रा त्रयोदशीका दिन धार्मिक विधिपूर्वक टुंगिएको हो ।
यो जात्रा पाटन दरबार क्षेत्रको सबैभन्दा पुरानो परम्परामध्ये एक मानिन्छ । यसले लिच्छवि, मल्ल र शाहकालको सांस्कृतिक धरोहर बोकेको छ । मानमानेश्वरी भवानीलाई लिच्छविकालदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गर्ने परम्परा रहेको व्यवस्थापन समितिले जनाएको छ ।
जात्राको सबैभन्दा आकर्षक पक्ष गुठियारहरूले हातमा खड्ग बोकेर, परम्परागत पोसाक र मुकुण्डो लगाएर बाजागाजासहित बस्ती परिक्रमा गर्नु हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा निकालिएको थियो । दसमीको साँझ मंगलबजार चौबाटोमा भवानी र नवदुर्गाबीच मिलन गराइएको थियो । त्यसपछि त्रयोदशीका दिन देवीको मूर्तिलाई मूलचोकबाट मुछेँ आगमघरमा पुनः विराजमान गराइएसँगै जात्रा सकिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले यो जात्रालाई गौरवशाली इतिहास र मौलिक संस्कृतिको जीवन्त प्रतीकका रूपमा वर्णन गरे । उनका अनुसार यसले धार्मिक आस्था, गुठी परम्परा र सामुदायिक एकतालाई निरन्तरता दिँदै आएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जात्रा केवल उत्सव मात्र नभई पहिचान र पुर्खाको सम्पदा भएको बताए । उनले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने यो अमूल्य सम्पदाको संरक्षणका लागि आर्थिक अभाव हुन नदिन महानगरले हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
