काठमाडौँ । विश्व पोलियो दिवसका अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात वटा विश्व सम्पदा स्थललाई जोड्दै मेगा साइकल र्याली आयोजना गरिएको छ । ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहितको र्यालीमा ५०० भन्दा बढी साइकल यात्री सहभागी भए ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले र्याली आयोजना गरेको हो । रोटरी क्लबका सदस्य, साइकल यात्री र अन्य सहभागी र्यालीमा जोडिएका थिए ।
र्याली बिहान भक्तपुर दरबार स्क्वायरबाट सुरु भई चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भयो । यस क्रममा उपत्यकाका सात वटा युनेस्को विश्व सम्पदा स्थल समेटिए ।
कार्यक्रम रोटरी क्लब आफ आरसी भक्तपुरले आयोजना गरेको हो । उद्घाटन समारोहमा डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाल सहभागी थिए ।
भक्तपुरका प्रमुख प्रजापतिले बालबालिकाको स्वास्थ्य सुरक्षा परिवारको मात्र नभई सिङ्गो समाजको जिम्मेवारी भएको बताए । उनले पोलियोजस्ता रोगबाट बच्न नियमित खोप अपरिहार्य रहेको र यस्ता अभियानले स्वास्थ्य सन्देश समुदायसम्म पुर्याउन सघाउने बताए ।
गभर्नर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए भने धकालले सबै पुस्ताको सहभागितामा जोड दिइन् । हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियोको विश्वव्यापी उन्मूलनका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ ।
