काठमाडौँ — खुला स्रोत वेब प्रोग्रामिङ भाषा पीएचपीमा नयाँ सुरक्षा कमजोरी पत्ता लागेको छ। यसको दुरुपयोगबाट ह्याकरले प्रभावित वेब सर्भरमा अनधिकृत रूपमा कोड चलाउन सक्ने भएकाले पीएचपीले शुक्रबार एडभाइजरी जारी गरेको छ।
कमजोरीलाई CVE-2026-115560 कोड दिइएको छ। यो विशेष प्रकारको कन्फिगरेसन र एप्लिकेसन कोडको संयोजनमा मात्र सक्रिय हुने जनाइएको छ। एप्लिकेसनले कन्फिगरेसनमा सेसन सिरियलाइज ह्यान्डलरलाई php_binary वा php_serialize तोकेर सेसन सुरु गर्नुअघि रनटाइममा पीएचपीमा परिवर्तन गरेको अवस्थामा जोखिम देखिन्छ। योसँगै सेसन अपलोड प्रोग्रेस सुविधा पनि सक्रिय हुनुपर्ने उल्लेख छ।
तत्कालका लागि session.upload_progress.enabled=0 सेटिङ राख्न सुझाव दिइएको छ। यस्तो गर्दा यो कमजोरीबाट उत्पन्न हुने जोखिमबाट जोगिन सकिने एडभाइजरीमा उल्लेख छ। वास्तविक प्रयोगमा यो अवस्था कम देखिने भएकाले छुट्टै आपत्कालीन अपडेट जारी नगरी अर्को नियमित बगफिक्स अपडेटमार्फत समाधान गरिने जनाइएको छ। विस्तृत एडभाइजरी आगामी संस्करणसँगै सार्वजनिक हुनेछ।
अक्टोबर २१ को अघिल्लो सुरक्षा एडभाइजरीमा पनि यही सेटिङलाई जोखिम न्यूनीकरण उपायका रूपमा उल्लेख गरिएको थियो। त्यसैबेला यो सेटिङ बन्द गरिसकेका प्रयोगकर्ताले थप परिवर्तन गर्नुनपर्ने जानकारी दिइएको छ।
