पाकिस्तान क्रिकेट बोर्डबाट खेल्ने अनुमति नपाएपछि नेपाल प्रिमियर लिगको टोली जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह स्वदेश फर्किने भएका छन्। टोलीले बोर्डको अन्तिम जवाफका लागि बिहीबारसम्म पर्खिने र त्यसपछि उनीहरूलाई फर्काउने तयारी गरेको छ।
टोलीका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले इमेलमार्फत बोर्डसँग सम्पर्क गरे पनि अहिलेसम्म आधिकारिक जवाफ आएको छैन। बुधबारसम्म स्पष्ट निर्णय नआए दुवै खेलाडीलाई टोलीमा राखिरहनुको अर्थ नहुने उनको भनाइ छ। खेलाडीलाई नखेलाई राख्नु उचित नहुने उनले बताए।
पाकिस्तानी खेलाडीलाई एनपीएल खेल्न अनुमति दिन २५ हजार अमेरिकी डलर मागिएको भन्ने चर्चाबारे खतिवडाले फ्रेन्चाइजसँग बोर्डको प्रत्यक्ष कुरा नभएको स्पष्ट पारे। यो विषय सञ्चारमाध्यममा आए पनि बोर्डले जनकपुरलाई आधिकारिक रूपमा त्यस्तो माग गरेको जानकारी नभएको उनले बताए। खेलाडी र बोर्डबीचको विषयमा फ्रेन्चाइजको प्रत्यक्ष सम्बन्ध नरहेको उनको भनाइ छ।
खेलाडीको अनुपस्थितिले टोलीको सन्तुलन र रणनीतिमा असर परेको खतिवडाले बताए। प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि मात्र समस्या थाहा हुँदा वैकल्पिक खेलाडी खोज्न कठिन भएको उनले बताए। टोलीले ब्याकअपका रूपमा कुसल परेरालाई अनुबन्ध गरेको भए पनि अन्तिम समयको अनिश्चितताले तयारी प्रभावित भएको उनको भनाइ छ। समर्थकलाई निराश नबनाउन सकेसम्म बलियो टोली उतार्ने प्रयास भइरहेको उनले बताए।
