पोखरा । राजा महेन्द्रले रानी रत्नका नाममा निर्माण गराएको हिउँदे दरबार रहेको रत्नमन्दिरसहित नेपाल ट्रष्टका नाममा रहेका जग्गा व्यावसायिक प्रयोजनका लागि दिने प्रस्तावको पोखरामा चौतर्फी विरोध भएको छ । ट्रष्टले बिहीबार रत्नमन्दिर परिसरमा गरेको छलफलमा पोखराका पाँच ठाउँका जग्गा ३० वर्षसम्म लिजमा दिएर व्यापारिक कम्प्लेक्स, होटल तथा रेस्टुरेन्ट बनाउने खाका प्रस्तुत गरेको थियो ।
प्रस्तावअनुसार पोखरा–६ बाराहीघाटका कित्ता नम्बर १७६२ र १७६३ का ४८ रोपनी ७ आना २ दाम जग्गामध्ये फेवातालको मापदण्ड कटाएर बाँकी रहने १५ रोपनी ९ आना ३ पैसा जग्गा ३० वर्षका लागि लिजमा दिने र तीन वर्षभित्र कम्प्लेक्स, होटल र रेस्टुरेन्ट निर्माण गर्ने योजना छ । रत्नमन्दिर कार्यालय परिसरको २ रोपनी ३ पैसा १ दाम र रत्नचोकको १ रोपनी १२ आना १ पैसा जग्गामा पनि यस्तै व्यावसायिक संरचना बनाउने प्रस्ताव छ । रत्नमन्दिरको मुख्य क्षेत्रका १११ रोपनी ११ आना २ पैसा १ दाम र हिमागृह परिसरका १० रोपनी ४ आना १ पैसा १ दाम जग्गालाई भने सम्पदा संरक्षण र पर्यटनसँग जोडेर उपयोग गर्ने योजना अघि सारिएको छ ।
नागरिक अगुवा रामबहादुर पौडेलले फेवातालको ६५ मिटरको मापदण्ड र वातावरणीय संवेदनशीलता बेवास्ता गरेर ल्याइएको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पनि सबैले एक स्वरमा विरोध गरेर अस्वीकार गरेको बताए ।
यता नेपाल ट्रष्ट कार्यालय पोखराकी प्रमुख लक्ष्मी भट्टले भने कुनै सम्झौता वा निर्णय नभएको दाबी गरिन् । उनका अनुसार यो जग्गा व्यवस्थापनबारेको सानो आन्तरिक छलफल मात्र हो र सरोकारवालाको राय नलिई लिजमा दिने कुरै आउँदैन । यसअघि गोकर्ण फरेस्ट रिसोर्ट र दरबारमार्गलगायतका ट्रष्टका सम्पत्ति सस्तोमा लिजमा दिइएको भन्दै देशभर विरोध भएको थियो ।
