पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा उपलब्ध सघन उपचारका शय्या सङ्ख्या ३५ पुगेको छ ।
नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको मुटु उपचार इकाइ (सीसीयू) र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए । यसअघि अस्पतालमा केवल १० शय्याको आइसियू सञ्चालनमा थियो ।
प्रतिष्ठानले करिब एक करोड रुपैयाँ थप लगानी गरेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । सघन उपचार सेवामा बिरामीको चाप निरन्तर बढिरहेका बेला थप पूर्वाधारले उपचार सहज हुने विश्वास व्यक्त गर्दै निर्देशक पोखरेलले भन्नुभयो, “अतिरिक्त उपचार कक्ष र शय्याले गम्भीर बिरामीलाई समयमै सेवा दिन सहज हुनेछ ।”
गण्डकी प्रदेशको मुख्य सरकारी अस्पतालका रूपमा रहेको यो प्रतिष्ठानमा प्रदेशका ११ वटै जिल्लाका साथै बाहिरका जिल्लाबाट पनि बिरामी उपचारका लागि आउने गर्छन् । हाल अस्पतालले दैनिक दुई हजारभन्दा बढी बिरामीलाई सेवा दिइरहेको छ । सघन उपचार शय्या बढेसँगै प्रदेशकै गम्भीर बिरामीलाई राजधानी वा बाहिर जानुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको छ ।
