काठमाडौं — देशभर रगतको अभाव चुलिँदै गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३ पिन्ट रगत मौजुद रहेको देखाइएको छ। पोर्टलका अनुसार विभिन्न रक्त समूहका रगत पर्याप्त मात्रामा उपलब्ध छन्।
पोर्टलको विवरणमा ‘ए’ पोजेटिभ २ हजार ६३४, ‘बी’ पोजेटिभ २ हजार ३७९, ‘ओ’ पोजेटिभ २ हजार ९९८ र ‘एबी’ पोजेटिभ ८४५ पिन्ट रहेको उल्लेख छ। त्यस्तै ‘ए’ नेगेटिभ १२२, ‘बी’ नेगेटिभ ९६, ‘ओ’ नेगेटिभ १२९ र ‘एबी’ नेगेटिभ ४० पिन्ट उपलब्ध रहेको देखाइएको छ।
तर डिजिटल पोर्टलमा यति धेरै रगत देखिए पनि अस्पताल वा रक्तसञ्चार केन्द्रमा पुग्दा बिरामीले उल्लेख गरिएको रगत सहज रूपमा पाउन सकेका छैनन्। बिरामीका आफन्तले रगत नपाइएको गुनासो व्यापक रूपमा गरिरहेका छन्। अनलाइनमा देखिएको तथ्याङ्क र वास्तविक अवस्था मेल नखाँदा रगत खोज्दै भौंतारिने बिरामी र तिनका आफन्तहरू थप समस्यामा पर्ने गरेका छन्।
