काठमाडौँमा बुधबारदेखि प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन सुरु हुँदैछ। दुई दिनसम्म चल्ने यो भेलामा विश्वका ३८ देशबाट झन्डै ३५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएको छ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले विश्वभर छरिएका नेपालीहरूलाई एउटै संगठनात्मक संरचनामा आबद्ध गर्दै उनीहरूको हक र पहिचानको रक्षा गर्नु अधिवेशनको मुख्य लक्ष्य रहेको बताए।
अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापन समारोहलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
यसपटकको अधिवेशन ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। प्रवासमा रहेका नेपाली श्रमिकको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय अधिवेशनका प्रमुख एजेन्डा हुन्।
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या समाधानका लागि एकीकृत पहल आवश्यक रहेको बताए। उनले अधिवेशनले यस दिशामा महत्त्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ। मञ्चको राष्ट्रिय कमिटी हाल ३८ देशमा, पाँच महादेशमा महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ। प्रवासमा रहेका दशौँ हजार नेपाली यस संगठनमा आबद्ध रहेको मञ्चको दाबी छ।
अधिवेशनका अवसरमा विश्वव्यापी भिडियो सामग्री निर्माण प्रतियोगिता पनि आयोजना गरिएको छ। उत्कृष्ट भिडियो बनाउने एक सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार दिइनेछ।
