विराटनगरमा दुई युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, मोरङले मुख्य अभियुक्तमध्ये एकलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अभियोगपत्र दायर गरेको हो ।
अभियोगपत्रअनुसार होटलमा राम्रो कमाइ हुने काम लगाइदिने प्रलोभन देखाएर दुई युवतीलाई गत असोज २१ गते विराटनगर महानगरपालिका–१३ स्थित मलायो रोडको एउटा घरमा पुर्याइएको थियो । त्यसपछि उनीहरूलाई कोठाभित्रै थुनेर बाहिर निस्कन नदिई जबर्जस्ती यौन शोषण गरिएको आरोप छ ।
पीडित युवतीहरूले असोज २२ गते जिल्ला प्रहरी कार्यालय, मोरङमा गुहार मागेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बन्द कोठाबाट दुवै युवतीलाई उद्धार गरेको छ भने मुख्य अभियुक्तमध्ये एक ४३ वर्षीय परवेज महमदलाई पक्राउ गरेको छ । अर्का अभियुक्त ४२ वर्षीय राम विलास महतो फरार रहेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्तहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिमको कसुर गरेको ठहर गरेको छ । सरकारी पक्षले दुवैलाई १० वर्षदेखि १५ वर्षसम्म कैद, ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ ।
फरार रहेका महतोको नाममा म्यादी पुर्जी जारी गर्न पनि माग गरिएको छ । बरामद भएका प्रमाणहरू परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुशी काठमाडौं पठाइएको अभियोगपत्रमा जनाइएको छ ।
