काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो । यससँगै खड्कालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउने बाटो खुलेको छ ।
खड्कालाई मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी तथा पुँजी पलायन गरेको आरोप लागेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई असोज २९ मा ललितपुरबाट पक्राउ गरेको थियो ।
उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी प्रविनाले असोज ३० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि कात्तिक १६ गते सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट म्याद थपसम्बन्धी सक्कल मिसिल झिकाउन आदेश दिएको थियो । मिसिल अध्ययनपछि अदालतले सीआईबीको पक्राउ तथा म्याद थप प्रक्रिया कानुनसम्मत रहेको ठहर गर्दै रिट खारेज गरेको हो ।
अब प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउनेछ ।
