काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बैकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकार वादी र दिक्षान्त बानियाँ प्रतिवादी रहेको मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन, ललितपुरबाट पक्राउ अनुमति लिइएको थियो । उनलाई बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले सोमबार उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो । उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ का बासिन्दा हुन् ।
पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
