अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्ष कस्तो बाटो लिने भन्ने कुरा मध्यावधि निर्वाचनले तय गर्नेछ। यस निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदन—प्रतिनिधिसभा र सिनेट—मा कुन दलको नियन्त्रण रहने टुंगो लाग्नेछ। हाल दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ।
ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्रेटिक पार्टीलाई संसद्मा आफ्नो उपस्थिति बलियो बनाउने अवसर दिएको छ। सिल्भर बुलेटिनका अनुसार दोस्रो कार्यकालको सुरुवातमा ५० प्रतिशतभन्दा केही बढी रहेको ट्रम्पको अनुमोदन दर अहिले घटेर करिब ३८ प्रतिशतमा झरेको छ।
प्रतिनिधिसभाका सबै ४३५ सिटमा निर्वाचन हुँदै छ। रिपब्लिकनसँग हाल २१८ सिट छन्, जुन बहुमतका लागि चाहिने संख्याभन्दा एक सिट मात्र बढी हो। कुक पोलिटिकल रिपोर्टका अनुसार १८ सिटमा कडा प्रतिस्पर्धा छ, तीमध्ये १४ सिटमा रिपब्लिकन र चार सिटमा डेमोक्रेटिक सांसद छन्। सन् १९३४ यताका २३ मध्यावधि निर्वाचनमा राष्ट्रपतिको दलले औसत २७ सिट गुमाएको इतिहास छ।
सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटिकका ४५ सांसद छन् भने दुई स्वतन्त्र सांसदले डेमोक्रेटिक पक्षलाई साथ दिन्छन्। यसपटक ३५ सिटका लागि निर्वाचन हुँदै छ। कडा प्रतिस्पर्धा भएका छ सिट सबै रिपब्लिकनको नियन्त्रणमा छन्। बहुमतका लागि डेमोक्रेटिकले तीमध्ये कम्तीमा तीन र आफूतर्फ झुकाव भएका थप पाँच सिट जित्नुपर्नेछ। मेन र टेक्सासका निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।
महँगी र जीवनयापन खर्च मतदाताका मुख्य चासो बनेका छन्। सन् २०२४ को चुनावमा ट्रम्पले महँगी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए। तर इरानसँगको युद्धका कारण ऊर्जा आपूर्तिमा अवरोधले अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालोन चार डलरसम्म पुगेको छ। प्रचारमा रिपब्लिकनले बढी स्रोत जुटाएका छन्—अक्टोबरको मध्यसम्म रिपब्लिकन राष्ट्रिय समितिसँग करिब ३२ करोड डलर नगद थियो भने डेमोक्रेटिक पक्षसँग २३ करोड डलरभन्दा कम थियो। परिणामले ट्रम्प प्रशासनका आगामी नीतिमा प्रत्यक्ष प्रभाव पार्नेछ।
