रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यसहित युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मंगलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउने विषय र ऊर्जा क्षेत्रमा सहयोगका बारेमा छलफल हुने जानकारी दिएका छन्।
जर्मनी युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता उपलब्ध गराउने प्रमुख देशमध्ये एक हो। जर्मन चान्सलर फ्रेडरिक मेर्जले युक्रेनप्रतिको समर्थन निरन्तर रहेको बताउँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अर्को साता अबुधाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीबीच शान्ति वार्ता हुने घोषणा गरेलगत्तै जेलेन्स्की जर्मनी पुगेका हुन्।
जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ। सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ र जेलेन्स्की पनि त्यसमा सहभागी हुने भएका छन्। सम्मेलनमा मुख्यतः युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ।
जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सबैको साझा चासो भएको उल्लेख गर्दै ती सिद्धान्तलाई ठोस निर्णय र कार्यमा बदल्न मिलेर काम गर्नुपर्ने बताएका छन्। यसैबीच जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’ को बैठक आयोजना गर्ने योजना बनाएको छ। चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए।
