काठमाडौँ — अब परीक्षण प्रयोगशाला तथा प्रमाणीकरण संस्थाहरूले देशभित्रै प्रत्यायन सेवा पाउने भएका छन्। सरकारले त्रिपुरेश्वरमा नेपाल प्रत्यायन केन्द्र स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्याएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री इ. दीपककुमार साहले एक कार्यक्रममा केन्द्रको उद्घाटन गरे।
केन्द्रको स्थापनासँगै परीक्षण प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण गर्ने निकाय र प्रमाणपत्र जारी गर्ने संस्थाहरूले नेपालमै मान्यता प्राप्त गर्न सक्ने बाटो खुलेको मन्त्रालयले जनाएको छ। यसले उद्योगी तथा व्यवसायीले परीक्षण र प्रमाणीकरणका लागि लाग्ने समय र खर्च घटाउने, उत्पादनको गुणस्तर उकास्ने र विदेशी निकायमाथिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ।
खाद्य पदार्थ, औषधि, निर्माण सामग्री र विद्युतीय उपकरणजस्ता वस्तुको गुणस्तर जाँच्ने संस्थाहरूको विश्वसनीयता बढेपछि उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हितको रक्षा गर्न पनि सहयोग पुग्ने विश्वास मन्त्रालयको छ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय प्रत्यायन र पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले नेपाली उत्पादनप्रति विदेशी बजारको भरोसा बढाउने र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउने अपेक्षा गरिएको छ। मन्त्री साहले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने काममा केन्द्र कोशेढुङ्गा हुने बताए।
