नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त डा. मनोज केसीले बुधबारदेखि कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ जवानको कमान्ड लिएका हुन्।
पदभार ग्रहणसँगै आईजीपी केसीले प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट ब्रिफिङ गरेका छन्। प्रधान कार्यालयको अडिटोरियम हलमा भएको ब्रिफिङमा उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृतहरू सहभागी थिए। करिब १५ मिनेट चलेको ब्रिफिङमा उनले आफ्ना प्राथमिकता सुनाए।
केसीले संगठनभित्र कसैलाई पनि प्रतिशोधपूर्ण व्यवहार नगरिने बताए। व्यक्तिले गरेको गलत कामको भारी संगठनले नबोक्ने भए पनि कसैसँग प्रतिशोध भने नसाँधिने उनको भनाइ थियो।
संगठनभित्र कसैलाई काखापाखा नगरिने उनले बताए। संगठनको भित्री कुरा र अनुसन्धान भइरहेको विषयको सूचना चुहाउनेहरूविरुद्ध भने निर्मम रूपमा प्रस्तुत हुने चेतावनी उनले दिए। गोपनीयता हनन गर्नेलाई कुनै कसर नराखी कानुनअनुसार कारबाही गरिने उनले बताए।
आधारभूत तहका प्रहरी कर्मचारीलाई केन्द्रमा राखेर काम गर्ने र उनीहरूका गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र विकास गर्ने उनले बताए। अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकहरूसँगको सामूहिक भावनामा काम गर्ने उल्लेख गर्दै उनले प्रहरीलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए।
सरुवा र बढुवा पारदर्शी बनाउने उद्घोष गर्दै उनले कार्यसम्पादनकै आधारमा पोस्टिङ गरिने बताए। खस्किएको प्रहरीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताए।
