बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलाको जिरो पोइन्टमा बुधबार राति जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।
डडेलधुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप राति करिब ८ बजे अनियन्त्रित भएर सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो। उपचारकै क्रममा राति ८ः३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
दुर्घटनामा जिप चालक पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारसहित छ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
