म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बन्दै गरेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो एक महिनादेखि रोकिएको छ। गत असोज ११ गते कालीगण्डकी नदीमा आएको ठूलो बाढीले आयोजनाका संरचनामा गम्भीर क्षति पुर्याएपछि काम अघि बढ्न सकेको छैन।
बाढीले सुकेबगरमा बन्दै गरेको बाँधको डाइभर्सन भत्काएको छ भने निर्माणस्थलमा ठूलो मात्रामा गेग्रान थुप्रिएको छ। सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्याएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को नागढुङ्गा र वडा नम्बर ६ को रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन् भने निर्माण सामग्री र श्रमिक आवास बाढीले बगाएको छ।
आयोजना प्रमुख अजितविक्रम कार्कीका अनुसार बाढीबाट आयोजनामा करिब १८ देखि २० करोड रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेर तिहारपछि काम पुनः सुरु गर्ने तयारी भइरहेको उनले बताए।
सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध बनाएर चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण–२ को नौनीबगरमा बन्ने भूमिगत विद्युत्गृहमा पुर्याइनेछ। १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ। उत्पादित विद्युत् दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। नबिल बैङ्कको नेतृत्वमा छ वटा वाणिज्य बैङ्कले ७५ प्रतिशत लगानी गर्नेछन्। हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ।
