पर्सा । पर्साको पोखरिया बजार क्षेत्रमा सडक दुर्घटना घटाउने उद्देश्यले विद्यार्थीहरूले जनचेतनामूलक र्याली निकालेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाले आयोजना गरेको कार्यक्रममा पोखरिया वीरगन्ज युवा समाजले सहकार्य गरेको थियो।
उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका कक्षा ८ र ९ का विद्यार्थीहरू र्यालीमा सहभागी भए। उनीहरूले बजार क्षेत्र परिक्रमा गर्दै सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरे। कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधि र युवा समाजका पदाधिकारी पनि उपस्थित थिए।
र्यालीमा सवारी चलाउँदा हेल्मेट र सिटबेल्ट अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सन्देश दिइएको थियो। मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, तीव्र गतिमा नकुदाउन र जथाभाबी ओभरटेक नगर्न पनि आग्रह गरियो।
सवारीसाधनका आवश्यक कागजात — सवारी चालक अनुमतिपत्र, ब्लु बुक र बीमा — साथमा राख्नुपर्ने र ट्राफिक सङ्केतको पूर्णपालना गर्नुपर्ने विषयमा पनि नागरिकलाई सचेत गराइएको थियो। दुर्घटनामुक्त समाज निर्माणका लागि सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
