लन्डन । बेलायतको केन्द्रीय बैङ्क, बैङ्क अफ इङ्गल्यान्डले झन्डै तीन वर्षपछि पहिलो पटक ब्याजदर बढाएको छ । बिहीबार बैङ्कले आफ्नो प्रमुख ब्याजदर २५ आधार अङ्कले बढाएर चार प्रतिशत पुर्याएको हो ।
ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले विश्वभर मूल्यवृद्धि बढाइरहेको अवस्थामा बैङ्कले यस्तो कदम चालेको जनाएको छ । मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि ब्याजदर बढाउने क्रममा बैङ्कले अमेरिकी फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैङ्कलाई पछ्याएको हो ।
युक्रेनले रुसी इन्धन प्रशोधन गृहहरूमा आक्रमण गरेको र अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रको ऊर्जा आपूर्तिमा अवरोध पुगेकाले विश्वभर डिजेलको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ ।
बैङ्कका गभर्नर एन्ड्र्यु बेलीले ऊर्जा मूल्यको वृद्धिले पर्याप्त मूल्यवृद्धि हुने सम्भावना बढाएकाले ब्याजदर बढाउनु आवश्यक भएको बताए । आजको वृद्धिलाई लामो समयसम्म जारी रहने वृद्धि शृङ्खलाको पहिलो कदमका रूपमा बुझ्न नहुने उनको भनाइ छ । तर मध्यपूर्वको द्वन्द्व समाधान नभएसम्म यो अन्तिम वृद्धि हुने सम्भावना पनि नदेखिएको उनले बताए ।
बैङ्कले पछिल्लो पटक सन् २०२३ को अगस्टमा ब्याजदर बढाएको थियो र त्यसयता डिसेम्बरदेखि ऋण लागत ३.७५ प्रतिशतमा राखेको थियो । सेप्टेम्बरमा बेलायतको वार्षिक मूल्यवृद्धि दर अपेक्षाभन्दा बढी बढेर ३.५ प्रतिशत पुगेको थियो, जुन बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।
मूल्यवृद्धि बढिरहेको भए पनि बैङ्कले सन् २०२६ र सन् २०२७ का लागि बेलायती आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । केन्द्रीय बैङ्कले अब यस वर्ष कुल गार्हस्थ उत्पादन १.६ प्रतिशत र अर्को वर्ष १.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
बैङ्कले बेलायती मूल्यवृद्धि अर्को वर्षको दोस्रो त्रैमासिकमा ४.९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । अर्को वर्षको सुरुदेखि नै लाखौँ बेलायती नागरिकले इन्धन तथा ऊर्जा बिलमा वृद्धि भोग्नुपर्ने अवस्था छ ।
