ललितपुर — नेपाली कांग्रेसले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताको जगमा अघि बढ्न आग्रह गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चार स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्नुपर्नेमा जोड दिए।
लोकतन्त्रको अवस्था नाप्ने सबैभन्दा भरपर्दो मापदण्ड स्वतन्त्र प्रेस भएको शर्माको भनाइ थियो। पत्रकारले कुनै दल वा शक्तिको दबाबबिना सत्य सार्वजनिक गर्न पाउने वातावरण बनाउनुपर्ने र सत्तापक्ष तथा प्रतिपक्ष दुवैका गतिविधिमाथि निर्भीक भएर प्रश्न उठाउनुपर्ने उनले बताए।
पार्टीको विशेष महाधिवेशन विधानको दफा १७ को उपदफा २ बमोजिम महाधिवेशन प्रतिनिधिको सहभागितामा सम्पन्न भएको र निर्वाचन आयोगले अभिलेख अद्यावधिक गरेको शर्माले जानकारी दिए। अदालतमा बहस भई २०८३ वैशाख ४ गते फैसला आएको उल्लेख गर्दै उनले आयोगको निर्णय र अदालतको आदेशमाथि प्रश्न उठाउने प्रचारप्रति आपत्ति जनाए।
सरकारको प्राथमिकता विपद्पछिको पुनर्निर्माण, पुनःस्थापना र पीडितको राहतमा केन्द्रित हुनुपर्ने शर्माको भनाइ थियो। ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितलाई राहत र आवासको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्न तयार रहेको शर्माले स्पष्ट पारे। वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्ने पक्षमा पार्टी रहेको बताउँदै उनले सरकारको प्राथमिकताबारे प्रश्न भने उठाइरहने बताए।
सभापति गगनकुमार थापासँग जोडिएका अभिव्यक्ति, श्रव्य सामग्री र आरोपबारे स्वतन्त्र, निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गर्दै शर्माले पार्टी आफ्नो नेतृत्वमाथि उठ्ने हरेक प्रश्नको सामना गर्न तयार रहेको बताए। न्यायपालिकाको स्वतन्त्रता र विधिको शासनप्रति प्रतिबद्धता दोहोऱ्याउँदै उनले अनुसन्धान तथा कारबाही गर्दा पर्याप्त तथ्य, प्रमाण र कानुनी आधार स्पष्ट हुनुपर्ने बताए।
