काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शनाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
सांसद दर्शनाले सरकारले सबैभन्दा पहिले डा. केसीको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । विगतमा गरिएका सहमतिबाट सरकार पछि हटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।
“डा. केसीका माग सम्बोधन गर्ने सहमति गर्न नसकिने हो भने अघिल्लो पटक किन सहमति गरिएको थियो ?” उनले प्रश्न गरेकी छन् । उनका अनुसार माग जायज छैनन् भने तथ्य र तर्कसहित त्यो भन्न सक्नुपर्छ, तर सहमति गरिसकेपछि त्यसबाट पछि हट्नु हुँदैन । वृद्ध शरीरलाई पटक-पटक जीवन नै जोखिममा पर्ने गरी दुःख दिन नहुने उनको भनाइ छ ।
डा. केसी कुनै राजनीतिक दल विशेषको नभई आम नागरिकको पक्षमा रहेको उनले उल्लेख गरेकी छन् । उनको भनाइमा डा. केसीको अडान सधैँ चिकित्सा शिक्षा क्षेत्रको सुधार र आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा केन्द्रित रहँदै आएको छ । उनी कुनै दलका नभई दिनदुःखी र निम्न तथा मध्यम वर्गका नागरिकको पक्षमा रहेको सांसद दर्शनाको भनाइ छ ।
डा. केसी वा उनको सत्याग्रह समस्या नभई उनले पटक-पटक सत्याग्रह बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनु नै वास्तविक समस्या भएको सांसद दर्शनाको भनाइ छ । सत्य र न्यायका लागि कसैले बारम्बार आफ्नो जीवन नै दाउमा राख्नुपर्ने अवस्था दुःखद भएको उनले उल्लेख गरेकी छन् ।
दल, सत्ता वा प्रतिपक्षको अनुकूलतामा सत्य नबदलिने उनले स्पष्ट पारेकी छन् । उनका अनुसार सत्यप्रतिको अडान निरन्तर रहिरहन्छ ।
