प्रहरी हिरासतमा रहेका इनम सापकोटाबाट बरामद गरिएका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले दुई दिनसम्म आफ्नो घरमा राखेको उच्च प्रहरी स्रोतले दाबी गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाका फोन बेनले आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई फिर्ता गरेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार उक्त अवधिमा फोनको लोकेसन ट्र्याक गर्दा ती बेनको ज्वागलस्थित घरमा रहेको देखिएको थियो। फोन फिर्ता भएपछि गरिएको फरेन्सिक परीक्षणमा त्यो बीचमा ह्वाट्सएप र फेसबुकजस्ता सामाजिक सञ्जाल चलाइएको र विभिन्न सामग्रीका स्क्रिनसट लिइएको पाइएको छ। सापकोटा र बेनबीच आदानप्रदान भएका केही मेसेजसहित मोबाइलमा रहेका केही सन्देश मेटिएको समेत स्रोतले बताएको छ।
फोनमा भेटिएका विवरणमा सापकोटा र बेनबीच केही महिनाअघिदेखि नै पटक पटक कुराकानी भएको देखिएको छ। तीमध्ये एउटा कुराकानी गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार छनोटसँग सम्बन्धित रहेको स्रोतको भनाइ छ। दाङ क्षेत्र नम्बर २ बाट अनन्तराज घिमिरेलाई टिकट दिनुपर्ने सिफारिससहितको मेसेज पनि फोनमा भेटिएको स्रोतले जनाएको छ। अहिले सञ्चारमाध्यममा आइरहेका केही स्क्रिनसट बेनले फोन आफूसँग राखेकै बेला लिएको पनि स्रोतको दाबी छ।
प्रहरी स्रोतले यसअघि अनुसन्धानबारे राजनीतिक नेतृत्वले चासो राख्ने गरे पनि अनुसन्धानमा रहेका सामग्री आफ्नो नियन्त्रणमा लिने काम कहिल्यै नभएको बताएको छ। बरामद मोबाइल कसरी बेनसम्म पुग्यो, कसले उपलब्ध गरायो र कुन प्रयोजनका लागि लगियो भन्ने अझै स्पष्ट भएको छैन।
सेतोपाटीले यसबारे बेनसँग प्रतिक्रिया माग्दा उनले चारवटा प्रश्नको जवाफ दिन चाहेनन्। उनले दाबी स्वीकार वा अस्वीकार गरेनन्।
सापकोटा असोज १४ गते पक्राउ परेका थिए। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको सम्पर्कका आधारमा अनुसन्धान सापकोटासम्म पुगेको प्रहरी स्रोतले जनाएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले कात्तिक १२ गते सापकोटाले आफूलाई प्रधानमन्त्रीको मानिस भनेर चिनाएको र सम्पर्क भएको बताएका थिए। कात्तिक १३ गते बसेको सर्वोच्चको फुलकोर्ट बैठकमा पनि यो विषय उठेको थियो।
