जनकपुरधाम — अल्पमतमा रहेको मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग विश्वासको मत लिन अब ११ दिन मात्र बाँकी छ। तर प्रदेशसभा सञ्चालनका लागि अहिलेसम्म कुनै जानकारी नआएको सभामुख रामआशिष यादवले बताएका छन्।
सभामुख यादवका अनुसार मुख्यमन्त्रीले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। ‘विश्वासको मत उहाँले २९ गतेभित्र लिनुपर्ने हुन्छ। कुन दिन लिने भनेर अहिलेसम्म मलाई जानकारी प्राप्त भएको छैन। उहाँले दुई दिनअगावै हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। त्यसपछि हामीले आफ्नो प्रक्रिया अघि बढाउने हो,’ उनले बताए।
सभामुखका अनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न अन्य दलसँग परामर्श र छलफल गरिरहेका हुन सक्छन्। मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने निर्णय गरेपछि प्रदेशसभामा पत्र आउने र त्यसपछि सभाको प्रक्रिया अघि बढ्ने उनले बताए।
गत असोज ३० गते नेकपा एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको हो। यद्यपि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय बाँकी रहेकाले अन्य दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको बताए। निर्धारित समयसम्म राजनीतिक परिस्थिति आफ्नो पक्षमा आउन सक्ने आशा व्यक्त गर्दै उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनैपर्छ। समय छ, सहमतिको प्रयास गर्दैछौँ।’
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सांसद छन्।
स्रोतका अनुसार निर्धारित समयभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले मुख्यमन्त्री यादवले आफ्नो पक्षमा आवश्यक संख्या जुटाउन नसके राजीनामा दिनुपर्ने विकल्प पनि रहन सक्छ। यद्यपि मुख्यमन्त्रीले भने सहमतिको प्रयास जारी रहेको बताएका छन्।
