काठमाडौं । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले यस हप्ता सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार र शुक्रबार दुई दिन सर्वसाधारणलाई यी सिक्का बिक्री गर्नेछ ।
यसपटक साढे दुई ग्राम तौलका सुनका असर्फी र १० ग्राम तौलका चाँदीका मेडालियन उपलब्ध हुनेछन् । चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशका आकृति अंकित छन् ।
गत वर्ष सुनको अभावका कारण राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बिक्री गरेको थियो । यसपटक भने वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर त्यसबाट असर्फी तयार पारिएको छ । असर्फी छाप्ने काम केही दिनदेखि जारी छ र दैनिक करिब पाँच सयको हाराहारीमा असर्फी तयार भइरहेका छन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार खरिद गरिएको ३५ किलो सुनबाट त्यति नै परिमाणमा असर्फी तयार हुँदैनन्, किनभने उत्पादन प्रक्रियामा केही सुन खपत हुन्छ । गुणस्तर र तौल यकिन गरेर मात्र बिक्री गरिने भएकाले मागअनुसार सबैलाई पुर्याउन नसकिने उनले बताए ।
एक व्यक्तिले एउटा सुनको असर्फी र बढीमा तीन वटा चाँदीका मेडालियनसम्म किन्न पाउनेछन् । मूल्य बिक्री हुने दिनको सुनचाँदीको बजार दरका आधारमा तय हुनेछ, जसमा सिक्का उत्पादनको लागत पनि थपिनेछ । बजार मूल्यभन्दा करिब १० देखि १५ प्रतिशतसम्म बढी पर्ने दाहालले बताए । स्टक सीमित भएकाले पहिले आउनेलाई प्राथमिकता दिइने उनले जानकारी दिए ।
