वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल अर्थात् आरओईमा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको औसत आरओई ९.१३९ प्रतिशत पुगेको छ, जुन गत आवको सोही अवधिको ७.०४३ प्रतिशतभन्दा बढी हो ।
ब्याज आम्दानीसँगै गैरब्याज आम्दानीमा सुधार आएकाले प्रतिफल बढेको हो । गत आव बैंकहरूले कर्जा नोक्सानी व्यवस्थामा धेरै रकम छुट्याउनुपरेकाले र कर्जा असुलीमा समस्या देखिएकाले आरओई घटेको थियो ।
प्रतिफल बढे पनि सञ्चित नाफा कमजोर भएका कारण केही बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्था छ । चालु आवको पहिलो त्रैमासमा ६ बैंकको सञ्चित नाफा ऋणात्मक रहेको छ । नेपाल इन्भेस्टमेन्ट, प्रभु, हिमालयन, एनआईसी एसिया र सिटिजन्स बैंकको सञ्चित नाफा ऋणात्मक छ भने माछापुच्छ्रे, नेपाल बैंक र कुमारी बैंकको सञ्चित नाफा सकारात्मक भए पनि वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
पहिलो त्रैमासमा सानिमा बैंकको आरओई सबैभन्दा धेरै १५.६ प्रतिशत पुगेको छ । एभरेस्ट बैंकको १४.२८ प्रतिशत, नबिल बैंकको १३.९९ प्रतिशत र ग्लोबल आइएमई बैंकको १३.२९ प्रतिशत छ । सरकारी लगानी भएको कृषि विकास बैंकको आरओई सबैभन्दा न्यून १.३१ प्रतिशत रहेको छ ।
पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार आरओई राम्रो देखिँदैमा बैंकहरूले लाभांश बाँड्न सक्ने स्थितिमा हुन्छन् भन्ने हुँदैन । लाभांश क्षमता मापन गर्न अन्य प्राविधिक तथा वित्तीय सूचकहरूलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्ने उनको भनाइ छ । कुमारी बैंकको सञ्चित मुनाफा करिब १४ करोड ७१ लाख रुपैयाँ मात्र रहेको छ ।
चालु आवको पहिलो त्रैमासमा बैंकहरूको कूल नाफा १९ अर्ब रुपैयाँ देखिएको छ भने गैरब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १२.४४ प्रतिशतले बढेर २० अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
